Sat. Apr 27th, 2024

तानसेन, फागुन १९ गते । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीति जनताका लागि हुनुपर्ने बताउनुभएको छ । नेताहरूको कर्मले जनताका लागिभन्दा पनि आफू र परिवारका लागि काम गरेको देखिाएकाले त्यसले जनतालाई दुःखी बनाएको उहाँको भनाइ छ ।   

तानसेन नगरपालिकाको आयोजनामा शनिबारदेखि तानसेनमा सुरु भएको प्रथम तानसेन कृषि, व्यापार, तथा पर्यटन महोत्सवको उद्घाटन गर्नुहुँदै उहाँले सबै एकजुट भएर जनताको पक्षमा काम गर्नुको विकल्प नभएको बताउनुभयो । 

उहाँले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको सम्पत्ति छानविन गरी भ्रष्टाचारीलाई कारबाही नगरेसम्म देश उभो नलाग्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेपछि आश्रममा बस्नुभयो, उहाँको अनुयायी म पनि हुँ, त्यसैले म मन्त्री बनेर फेरि झुपडीमा बस्न तयार छु ।’

आफू हिजो झुपडीमा जन्मेको र भोलि पनि सडकमा आउन कुनै डर नभएको भन्दै उहाँले भ्रष्टाचार अन्त गर्ने अभियानमा आफू रहेको बताउनुभयो । उहाँले हिजो केही नभएका नेताहरू सिंहदरबार छिरेपछि भ्रष्टाचारमा मुछिने र नचिन्नेगरी मोटाउने गरेको टिप्पणी गर्नुभयो ।  

सरकार अहिले भ्रष्टाचारीलाई कारबाही नगरे देश सुध्रिन नसक्ने उल्लेख गर्नुहुँदै भ्रष्टाचार अभियानमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । आफू मन्त्री परिषद्को एक सदस्यको हैसियतले भ्रष्टाचारीलाई कारबाही गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।  

उहाँले पाल्पाको विकासका लागि सिद्धार्थ राजमार्गको डेडिकेटेड सडक निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरा र लुम्विनी आउने पर्यटकलाई पाल्पासम्म आउने वातावरण बनाउन सकियो भने पाल्पाको विकासले फड्को मार्ने बताउनुभयो । 

By maniram

Leave a Reply

Your email address will not be published. Required fields are marked *