भिसा नपाउँदा रोकिए चिनियाँ कामदार


कोरोना महामारीमा भिसा नीति कडाइ हुँदा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आउनुपर्ने कामदार उतै रोकिएका छन् । ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले ल्याउन खोजेका दुई सय कामदारले भिसा पाएका छैनन् ।

कम्पनीले कामदार ल्याउन सहजीकरण गरिदिन अनुरोधसहितको पत्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई बुझाएको छ । आयोजनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कामदार ल्याउने सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।

विमानस्थलको अनुगमन गर्न शनिबार पोखरा आएका मन्त्री भट्टराईलाई आयोजना प्रमुख विनेश मुनकर्मीले चिनियाँ कामदार ल्याउन पहल गरिदिन ध्यानाकर्षण गराए । चिनियाँ कामदार आउन चाहँदा पनि नेपाल सरकारको हालको भिसा नीतिका कारण समस्या भएको उनको भनाइ छ ।

विभिन्न चरणमा दुई सय कामदार आउन तयारी अवस्थामा छन् । उनीहरू विमानस्थल निर्माणका लागि आवश्यक प्राविधिक एवं दक्ष कामदार हुन् । उनीहरूलाई पहिलोपल्ट ठेकेदार कम्पनीले आयोजनामा ल्याउन चाहेको मुनकर्मीले बताए ।

‘सरकारले अहिले नेपाली, विदेशी कूटनीतिज्ञ र तिनका परिवारलाई मात्रै भिसा दिने भनेको छ,’ उनले भने, ‘ठूला आयोजनाको हकमा कामदारलाई पनि भिसा दिनुपर्छ ।’ उताबाट आउन नपाए पनि अन्तर्राष्ट्रिय उडान सुरु भएपछि ६४ चिनियाँ कामदार स्वदेश फर्किएका छन् ।

आफ्नो जिम्माको काम सकेर उनीहरू फर्किएका हुन् । दुई सातापछि ५० चिनियाँ कामदार फर्किनेछन् । हाल १ सय ८० चिनियाँ र १ सय २० नेपाली कामदारले विमानस्थलमा काम गरिरहेका छन् । आयोजनालाई आवश्यक सामानसमेत समयमै आइपुगेको छैन ।

चीन र भारतबीचको खटपटका कारण सामान आउन ढिलाइ भएको आयोजना प्रमुख मुनकर्मीको दाबी छ । भारत हुँदै सामान आउने भएकाले कतिपय सामान भन्सारमै अड्किएको उनको भनाइ छ ।

आयोजनाले पत्राचार गरेपछि परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कामदारलाई ल्याउन कोसिस गर्ने मन्त्री भट्टराईले बताए । विस्तारै अन्तर्राष्ट्रिय उडान खुलेको र विदेशबाट आवतजावत गर्न सहज हुँदै गएकाले कामदार ल्याउन कठिनाइ नहुने उनले जनाए ।

‘नेपाल सरकारले ठूला आयोजनामा काम गर्ने कुनै पनि विदेशी प्राविधिक वा कामदारलाई नेपाल ल्याउन रोकेको छैन,’ उनले भने, ‘उहाँहरूलाई ल्याउन चिनियाँ सरकारका विभिन्न एजेन्सीमार्फत कुराकानी गर्छौं ।’ उपकरण आपूर्तिका लागि पनि भन्सार नाकामा मन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।

विमानस्थलको अनुगमनपछि उनले निर्माण कार्य सन्तोषजनक भएको प्रतिक्रिया दिए । सन् २०२१ को जुनभित्र निर्माण सक्ने लक्ष्य भेट्ने गरी काम भइरहेको उनले बताए । ‘पहिले लक्ष्यभन्दा ६ महिना अगावै सकिने अनुमान थियो ।

कोभिडका कारण कतिपय उपकरण र कामदार आउन ढिलाइ भयो,’ उनले भने, ‘अहिलेको कामलाई हेर्ने हो भने लक्ष्यभित्रै सकिने अवस्था छ ।’ अन्तर्राष्ट्रिय विमानस्थल प्रमाणीकरण गर्न २–३ महिना लाग्ने भएकाले सन् २०२१ भित्रमै पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुने उनको दाबी छ ।

ल्यान्डफिल साइट हटाउन पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारसँग समन्वय गरेर काम अगाडि बढाउने उनले बताए । ‘राष्ट्रिय गौरवका आयोजनामध्ये यो छिट्टै सम्पन्न हुनेमध्ये पर्छ,’ उनले भने ।

विमानस्थलको हाल ६४ प्रतिशत काम सकिएको छ । रनवे, एप्रोन, पाइपलाइन, ट्याक्सी वे, ट्रान्सफर्मर, विद्युत् पाइपलाइनका काम सकिएका छन् । एक्सेस रोड र टर्मिनल बिल्डिङ अन्तिम चरणमा पुगेका छन् । १४ भवनको संरचना बनेर फिनिसिङको चरणमा छन् । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *