कोरोना संक्रमितका सारथि


कोभिड—१९ का बिरामी बोक्न तयार अवस्थामा भेटिए, ३० वर्षीय रघुनाथ दास। त्यस बेला आफू संक्रमित बन्ने त्रास होइन कि, ढिलो हुँदा बिरामीको ज्यान पो जाला कि भनेर दास चिन्तित देखिन्थे।

उनले बाक्लो प्लास्टिकको पुरानो पीपीई पहिरिएका थिए। हातमा पन्जा, मुखमा डबल मास्क अनि आँखामा चस्मा लगाएका थिए। चर्को गर्मीमा पसिनाले निथु्रक्क भिजेको अवस्थामा उनी बुधबार दिउँसो भेटिएका हुन्।

पीपीई सेटमा जुत्ता उपलब्ध नगराइएकाले चप्पल लगाएरै उनी एम्बुलेन्सको चालक सिटमा बसे। प्रादेशिक अस्पताल जनकपुरतर्फ हानिए। सिकिस्त अवस्थामा रहेका बिरामीलाई काठमाडौं रेफर गरिएको रहेछ। त्यही भएर उनलाई छिटोभन्दा छिटो अस्पताल पुग्नु थियो। अरू व्यक्ति कोरोना संक्रमितनजिक जान पनि डर मानिरहेका छन्। तर, उनको हिम्मत मानवताको एउटा उदाहरण थियो।

कोभिड महामारीले मानवता हराउँदै गएको छ। कतिपय एम्बुलेन्स चालकले कोरोना संक्रमित बोक्न आनाकानी गर्ने गरेका घटना सार्वजनिक भइरहेका छन्। त्यो भीडमा दास फरक पात्रका रूपमा देखा परेका छन्।

संक्रमितका सारथि बनेका दासजस्ता एम्बुलेन्स चालकको खासै चर्चा हुँदैन। घरपरिवार र समाजबाट अपहेलित भएर पनि उनीहरू बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन भोकप्यास नभनी खटिएका छन्।

‘८ हजार रुपैयाँ तलब र १० प्रतिशत भत्ताकै लागि कोही एम्बुलेन्स चालकले आफ्नो जीवन दाउमा लगाएर काम गर्दैनन्’, संयुक्त एम्बुलेन्स चालक संघ धनुषाका अध्यक्ष अरमानकुमार साह भन्छन्, ‘यो महामारीका बेला सेवाभाव र मानवधर्मलाई सर्वोपरि ठानेर नै हामी काममा लागेका हौं।’

एम्बुलेन्स चालक नुरुल कवाडी पसलेले खानासम्म दिन अस्वीकार गर्ने दुखेसो पोख्छन्। ‘कसैको पसलअगाडि पानी किन्न गाडी रोक्यो भने हप्काउँदै भगाउँछन्’, कवाडी भन्छन्, ‘हेला र अपमान सहेर पनि हामीले बिरामी बोक्न छाडेका छैनौं।’

महामारीका कारण घरपरिवारले पनि काम छाड्न दबाब दिने गरेको उनको भनाइ छ। ‘यो काम छाड्न घरबाट निकै दबाब छ। दाजुभाइले पनि पीसीआर परीक्षणको रिपोर्ट नल्याएसम्म घरमा पस्न दिँदैनन्’, उनी भन्छन्, ‘पछिल्लोपटक पनि परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्ति मात्र घर जान पाएको थिएँ।’

सुजित पुर्वेले कोरोनाका कारण मृत्यु भएका ५ जनाको शव निःशुल्क व्यवस्थापनका लागि शववाहनबाट ओसारे। ‘सेवासँगै सुविधालाई पनि ध्यान दिनुपर्छ’, संघका केन्द्रीय सदस्यसमेत रहेका पुर्वे भन्छन्, ‘चालकहरूलाई स्वास्थ्य सामग्री उपलब्ध गराइँदैन। एउटै पीपीई ३–४ पटक लगाएर बिरामी ओसार्नुपर्ने हुन्छ। बाटोमा खानासमेत किनेर खान पाइँदैन। हामीलाई काम गर्न निकै कठिन छ।’

स्वास्थ्य संस्थाले रुघाखोकीका बिरामी भर्ना लिन नमान्ने गरेको र धेरैजसोलाई एम्बुलेन्समा राखेर अस्पताल–अस्पताल घुमाउँदा घुमाउँदै ज्यान जाने गरेको तीतो अनुभव सुनाउँछन्, चालक वीरेन्द्र सिंह। ‘जनकपुरबाट विराटनगरको अस्पतालमा रेफर गर्छन्। त्यहाँ भर्ना नै नलिएर बिरामीलाई धरान लग भन्छन्। लग्दालग्दै बाटोमै कतिपयले ज्यान गुमाउँछन्। अनि संक्रमितलाई फर्काएर घर ल्याउँछौं’, सिंह भन्छन्, ‘संक्रमण पुष्टि भएको छ भने त ठिकै हो। बिरामी हुँदा स्वाब लिइएको हो र मृत्युपछि रिपोर्ट पोजिटिभ आयो भने शव एम्बुलेन्समै छाडेर सबै बेपत्ता हुन्छन्। त्यसपछि चालकले शव कुर्नुपर्ने बाध्यता हुन्छ।’ मान्छेको शरीरसँग रोगको बहानामा गरिने यस्तो अमानवीय व्यवहारप्रति सिंह दुःख व्यक्त गर्छन्।

धनुषा जिल्लाभरि ८० वटा एम्बुलेन्स दर्ता भए पनि तीमध्ये ६० वटा मात्रै चालू अवस्थामा छन्। जिल्लामा सञ्चालित सबै एम्बुलेन्सलाई रोटेसनमा सञ्चालन गर्ने र कोभिडका बिरामीका लागि प्रत्येक दिन दुईवटा एम्बुलेन्स सतर्क अवस्थामा राख्ने निर्णय गरिएको संघका केन्द्रीय सदस्य महाशंकर ठाकुर सुनाउँछन्। अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।

Leave a comment

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *