नेविसंघ रिक्तताको संघारमा, अध्यक्षका दाबेदार को को?

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको लागि सबैभन्दा बढी टाउको दुखाईको विषय नेविसंघ बनेको छ । कुनैबेला नेविसंघले सिंगो नेपाली कांग्रेसको विरासत धानेको थियो, तर यतिबेला नेपाली कांग्रेसको ठूलो साधन–स्रोत तथा नेविसंघको समस्या समाधानमै बितेको छ ।

नेविसंघको वर्तमान केन्द्रीय समितिको म्याद गत भदौमै समाप्त भएको हो, तर महाधिवेशन गर्न नसकेपछि मंसिर २ गतेसम्मका लागि थपियो । महाधिवेशनको कुनै गृहकार्य नै नगरी मंसिर २ गतेसम्मको समय पनि गुज्रियो । पार्टीले मंसिर २ गते नै केन्द्रीय समितिको बैठक बोलाएर माघ २ गतेसम्मका लागि म्याद थप ग-यो । तर तेस्रोपटक म्याद थपिएको अवधिमा पनि महाधिवेशनका लागि पूर्वाधार तयार गर्ने काम वर्तमान केन्द्रीय समितिले गर्न सकेन । अब माघ २ गतेको म्याद आइपुग्न करिब एक साता मात्र बाँकी छ । तर ९० प्रतिशत जिल्लामा अधिवेशन हुनसकेको छैन । ९५ प्रतिशत क्याम्पसमा अधिवेशन हुन बाँकी छ ।

माघ २ गतेपछि नेविसंघको अवस्था के होला ? फेरि म्याद थपिएला कि तत्काल तदर्थ समिति गठन गरिएला कि, केही साताका लागि नेविसंघको केन्द्रीय समिति नै रिक्त रहला ? भन्ने प्रश्न कांग्रेस वृत्तमा सुरु भएको छ । फेरि म्याद थप्न पार्टीको केन्द्रीय समिति बैठक बोलाउनुपर्ने हुन्छ । तर केन्द्रीय समितिको बैठक माघ १० गते मात्रै बोलाइएको छ । त्यसैले फेरि म्याद थप हुने सम्भावना टरेको छ । १० वर्षका लागि थपिए पनि वर्तमान केन्द्रीय समितिले महाधिवेशन गराउन सक्दैन भन्ने पुष्टि भइसकेको छ । माघ २ गते वर्तमान केन्द्रीय समितिको म्याद सकिएपछि पार्टीले तदर्थ समिति गठन नगरुन्जेल नेविसंघ रिक्त हुने सम्भावना छ । १० गते केन्द्रीय समितिको बैठक बोलाइएकाले त्यसअघि तदर्थ समिति गठन हुने सम्भावना छैन ।

विधानमा ३२ वर्षे उमेरहद लगाइएका कारण महाधिवेशनमा उम्मेदवार हुन नपाउने भएकाले वर्तमान केन्द्रीय समितिमा रहेका नेताहरू महाधिवेशनप्रति उदासीन देखिएका हुन् । अब तदर्थ समिति बनाउँदा ३२ वर्ष उमेर नाघेकालाई राख्ने वा नराख्ने रु भन्ने बहस पनि सुरु भएको छ । ३२ वर्ष कटेकामध्येबाट तदर्थ समिति बनाइयो भने रत्न कार्की, सरोज थापा र राजीव ढुंगानामध्येबाट एकजना अध्यक्ष बन्ने सम्भावना बलियो भएको बताइन्छ । ३२ ननाघेकामध्येबाट तदर्थ समिति बनाइयो भने प्रकाश घिमिरे, शिव रिमाल, प्रेम जोशी, एलिजा ढकालमध्येबाट कसैलाई अध्यक्ष बनाइने सम्भावना पनि छ, तर आगामी महाधिवेशनका लागि उनीहरू अध्यक्षका प्रतिस्पर्धी हुन् ।

यही विवादका बीच सिटौला समूहले ३२ वर्षे उमेरहद हटाउन चलखेल गरेको बुझिएको छ । स्रोतका अनुसार यस विषयमा अध्यक्ष नैनसिंह महर र नेता कृष्णप्रसाद सिटौलाबीच एक हदसम्मको सहमति भएको चर्चा विद्यार्थी नेताहरूबीच भाइरल भएको छ । ‘विगतमा मैले जसरी प्रदीप पौडेललाई पार्टीको केन्द्रीय सदस्य बनाइदिएँ, त्यसरी नै अब तपाईलाई केन्द्रीय सदस्य बनाइदिनेछु, जसरी हुन्छ, कुन्दनलाई अध्यक्ष बनाउने बाटो खोल्नुहोला,’ सिटौलाले महरलाई भनेको भनी व्यापक प्रचार गरिएको छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *