आफूले पढाएका बच्चाहरुले पेशा, व्यवसाय गरेकोे देख्दा खुसी लाग्छ : डा.माला खरेल

डा.माला खरेल, वरिष्ठ समाजसेवी तथा बागमती सरसफाइ अभियान्ता

अरुका दुःखलाई आफ्नै जस्तो सोच्ने वरिष्ठ समाजसेवीको नाम हो लामा खरेल । काठमाडौंमा जन्मिएकी खरेल दुःख पाएका बालबालिका भनेपछि हुरुक्क हुन्छिन् । उसोत उनले पशुपति क्षेत्र र सडक, पेटीमा मागेर गुजरा गर्नेका बालबच्चाहरु जम्मा गरी बाल शारथी नामक संस्थामार्पmत खाना खुवाउने र पढाउने काम १७ वर्षदेखि गर्दै आएकी छन् । खरेल अधिकार सम्पन्न बागमती अभियानमा काम गर्नेक्रममा सडक, पेटीमा खान नपाएर भौतारिएका बच्चा देख्दा असाध्यै मन कुडिएपछि तीनलाई पढाउने र खाना खुवाउने कामतिर सरिक भएकी हुन् । उनै समाजसेवी खरेलसँग बागमती सरसफाइ र बाल उत्थानमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

बाल शारथीमा कस्ता परिवारका बच्चाहरुलाई आश्रय दिनुभएको छ ?
आर्थिक अवस्था अत्यन्तै न्यून भएका जो सरकारी स्कुलमा पनि पढ्न नसक्ने वर्गका बालबालिकाहरु आउने गर्दछन् । विशेषगरी पशुपति मन्दिर क्षेत्रलगायत बाटो, चोकमा भिख मागेर दैनिक गुजारा चलाउने परिवारका बच्चाहरु यहाँ आउँछन् । त्यस्ता वर्गका बच्चाहरु बाल शारथीमा छन् । उनीहरुलाई खाना र पढ्न व्यवस्था मिलाइएको छ ।

बाल शारथीमा कति कक्षासम्म पढाउनुहुन्छ ?
नर्सरीदेखि कक्षा ५ सम्म बाल शारथीमा पढाउँछौं । खासमा हामीले बच्चा पढाउने स्कुल खोलेका थिएनौं । खान समस्या भएका परिवारका बच्चालाई खानाको व्यवस्थाको लागि बालशारथी भन्ने संस्था खोलेका थियौं । पछि खानाको साथै कक्षा ५ सम्म पढाएर पढाउन थालियो । त्यसको २, ३ वर्षपछि ती बच्चाहरु अवस्था बुझेको उनीहरु त फेरि सडकमै पुगेको देखियो । हामीले कक्षा ५ सम्म पढाको केही काम भएन । फेरि सडकका बच्चा सडकमै पुगेछन् भनेर अहिले कक्षा १२ सम्म निरन्तर पढाइरहेका छौं । कक्षा ५ सम्म आफैले त्यसमाथिकालाई अन्य स्कुलमा खर्च जुटाएर पढाएका छौं ।

कुनै स्कुल, कलेजले फ्रीमा पढाएका छैनन् ?
फ्रीमा कसैले पढाउन मानेनन् । अनि हामीले नै उनीहरु फि तिर्ने ड्रेस, किताब, कपी किनिदिने गर्दछौं । उनीहरुलाई पढ्नको लागि जतिपनि सामग्री चाहिन्छ । त्यसको व्यवस्था हामीले जुटाइदिन्छौं । ती बालबालिका त्यहाँ गएर सिर्फ पढ्ने मात्रै हुन् ।

कुनै स्कुल, कलेजमा कोटा माग्नुहुन्न ?
त्यस्तो सरकारी कोटा मागेर होइन । आपैmले खर्च गरेर पढाएका छौं । सरकारी स्कुल, कलेजहरुमा हामीले कोटा पनि मागेको हो । हरेक स्कुलमा कम्तिमा १० प्रतिशत गरीब तथा जेहन्दार विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने नियम चाहीं छ । त्यसको लागि अनुरोध गर्न सरकारीलगायत प्राइभेट धेरै स्कुल, कलेजहरुमा गयौं । तर, त्यो सुविधा हामीले पाएनौं ।

त्यसको लागि जिल्ला शिक्षा अधिकारीबाट लेखाएर पनि ल्ययौं । तर, यहाँका स्कुल, कलेजहरुले मानेनन् । त्यसबेला हामीले सरकारले तोकेको १० प्रतिशत कोटामा कसलाई पढाउनुभएको छ त ? भन्दा हाम्रा टिचरका छोराछोरी, आफन्तलाई पढाएका छौं भन्ने जवाफ पाइयो । त्यसपछि विभिन्न स्कुलमा २, ४ जना, २, ४ जनाका दरले आफैले खर्च जुटाएर अहिले १२ कक्षासम्म हाम्रा बच्चाहरु पढाइरहेका छौं ।

तपाईंहरुले प्रयास गर्दागर्दै पढ्न नमानेर छोड्नेहरु पनि छन् ?
त्यस्ता पनि छन् । पहिला त उनीहरुका अविभावकहरुसँगै सडक, मन्दिरमा मागेर बसेका हुन्छन् । तिनीहरुलाई त्यहाँबाट छुटाएर ल्याउनै गाह्रो हुन्छ । कतिपयलाई तपाईंहरुले पनि देख्नुभएको होला सडक, गल्ली, चोकमा बच्चा च्यापेर मागिरहेका हुन्छन् । उनीहरुको त्यो बच्चा देखाएर माग्ने स्रोत हुँदोरहेछ । त्यो भएर कतिपय अविभावकले नै पठाउन नमान्ने रहेछन् । ती बच्चाको अविभावकहरुसँग यिनीहरुलाई यसरी माग्न सिकाउनु हुँदैन । बच्चाको पढ्न पाउने अधिकार हुन्छ । पढाउनुपर्छ हामी पढाइदिन्छौं भनेर सम्झौउन जाँदा ती अविभावकबाट मैले धेरैपटक गाली खाएकी छु ।

कहिलेदेखि यो सेवा थाल्नुभएको हो ?
हामीले बाल शारथीको सुरुवात गरेको २०६१ सालबाट हो । अहिले झन्डै १७ वर्ष भयो यसरी सडक बालबालिकालाई पढाउन थालेको ।

यतिका बच्चाहरुलाई खान, लाउन र पढाउन खर्च कहाँबाट जुटाउनुहुन्छ ?
पहिला आफ्नै खर्चबाट सुरु गरेको हो । त्यतिबेला म अधिकार सम्पन्न बागमती सभ्यतामा जागिर खान्थें । त्यसबेला मेरो दश हजार तलब थियो । त्यसमा साढे ९ हजार बच्चाहरुको लागि खर्च गर्दथें । किनभने बस्नको लागि मेरो घर थियो । खाना र बच्चा बढाउन श्रीमानको जागिर थियो । पछि बच्चाहरु पनि धेरै हुँदै गए । आफ्नो खर्चले मात्रै धान्न गाह्रो भयो । त्यसपछि सहयोग हातहरुको याचना गरियो । अहिले त धेरै साथीहरुको सहयोग छ ।

ती सहयोगीहरु नेपालकै छन् कि बाहिरका छन् ?
धेरैजसो नेपालकै छन् । कतिपय बाहिरका साथीहरु पनि छन् । उहाँहरुबाट पछिल्लो समय ठूलो सहयोग छ । उहाँहरुकै सहयोगबाट बच्चाहरुलाई खान, लाउन र पढाउन खर्च जुटेको छ ।

कोराना कहरको बेला ती बालबालिकाको व्यवस्थापन कसरी गर्नुभयो ?
कोरोनाको बेला एक्कासी ठ्याक्कै लकडाउन भयो । ती बालबालिकाको घरमा खाना थिएन । सधैं बाल शारथीमा खाना खुवाउने गरिएको थियो । लकडाउन भएको दुईपछि ती बच्चाहरु भोक लाग्यो भन्दै मेरो घरमै आए । उनीहरु आएर हामीले खाननपाएको दुई दिन भयो । भोक लागिसक्यो खान दिनुहोस् भने । आफू खाएर बसेको ती बच्चाले दुई दिनदेखि खाएको छैन भन्दा एकदमै मन कुडिएर आयो । पहिलो लकडाउनमा कर्फू नै छ । बच्चाले भोक लाग्यो भनेपछि घरबाट किस्किएँ ।

घरबाट किस्किएर बालशारथीमै जानुभयो ?
हो, किन भने घरमा सबैलाई खुवाउने ठाउँ थिएन । बालशारथी स्कुलमा त उनीहरुले खाने गरेको भाँडा, सामान थियो । भात पकाउने आमा पनि हुनुहुन्छ । त्यसकारण त्यहाँ गएर भात पकाएर खान दिएँ । अनि यसरी खाना पाएपछि धेरै बच्चाहरु आए । त्यो देखेर छरछिमेकीले कराएर मलाई बसीखान दिएनन् ।

छिमेकीले किन कराएका रहेछन् ?
त्यो बेलामा आफन्तकोमा त जान नपाइने अनि मलाई छिमेकीहरले यस्ता फोहोरी बच्चा ल्याएर हाम्रो टोलमा कोरोना सार्न लाग्नुभयो । अब तपाईंलाई हामी जेल हाल्छौं भनेर त्यहाँका बासिन्दाले बेस्सरी कराए । हुँदाहुँदा वडाका प्रतिनिधिहरु पनि आएर मलाई थर्काउन थाले । त्यो देखेर मलाई एकदमै रुन मन लाग्यो । त्यसताका त्यहाँका छिमेकीहरुले म आउँछु भनेर तगारो लगाएर बाटोसमेत थुने ।

अब ती बच्चालाई मैले खान दिइँन भने खान पाउँदैनन् । त्यसपछि मैले मेरा साथीहरुलाई मेरो बच्चाले खान पाएनन् के गरौं भनेर सोधेँ । अनि उनीहरुले मलाई हामी खाना ल्याइदिन्छौं तपाईं खुवाउन सक्नुहुन्छ भनेर सोधे हुन्छ भनेँ । अनि मैले ती बच्चाहरुलाई बाटोमा लगेर साथीहरुले पठाएको खाना खुवाएर बँचाएँ । उनीहरुलाई खाना खुवाउनको लागि मान्छेको आवतजावत नहुने ठाउँ रोजेकी थिएँ । कसैलाई घरमै खानको लागि सामान उपलब्ध गराएर व्यवस्था मिलाइदिएँ । यसरी लकडाउनको बेला गरीव, असाहयलाई खाना खुवाउने र राहत उपलब्ध गराउने काम मैले सुरु गरेकी हुँ ।

रत्नपार्कमा पनि तपाईंले सुरु गर्नुभएको हो ?
रत्नपार्कमा म र मेरो साथीहरु भएर सुरु गरेको हो । पहिला पशुपतिमा सुरु गरियो । त्यसपछि हामीले नै रत्नपार्कमा पनि सुरु गरेको हो । सुरुका एक, डेढ महिना हामीले खाना खुवाउने काम गरेपछि अन्य संघसंस्थाको पनि दाल, चामल पोको पारेर दिने खाना खुवाउने लर्को लाग्न थाल्यो ।

सहज हुँदै गएपछि फेसनको रुपमा चल्न थाल्यो हो ?
हो, फेसनै भयो । किन भने लकडाउन एकदमै कडा भएको बेलामा मैले ज्यान जोखिममा राखेर काम गरेँ । पछि त यति धेरै संघसंस्थाहरु आएकी प्रतिस्पर्धा नै हुनथाल्यो । त्यसपछि मैले त्यो काम गर्न छोडिदिएँ । आफ्ना बालशारथीका बच्चालाई मात्रै खुवाउन थालेँ । पहिला चाहीं विभिन्न ठाउँमा गएर खान नपाएकाहरुलाई खुवाउने गरेको थिएँ । म र मेरो साथी सुचित्रा श्रेष्ठ भएर स्कुटीमा सामान बोकेर ठाउँठाउँमा पु¥याउने काम गरियो ।

त्यसताका कतिजति मान्छेलाई खाना सहयोग गर्नुभयो ?
झन्डै ६ हजार हाराहारी मानिसहरुलाई खानाको व्यवस्था मिलाउने काम गरियो । हामीले ठाउँठाउँमा गएर सामान बाँडेको देखेर स्वदेश, विदेशका धेरै साथीहरुले हामी सामान दिन्छौं भनेर दिन्थे । त्यसबेला सहयोगको हातबाट पैसा लिइँन उनीहरुले जे सामान दिन्थे त्यो लक्षित समुदायकोमा पु¥याउने काम गरियो । त्यसबेला यहाँमात्रै होइन ।

उपत्यकाभरिबाट फोन आउँथ्यो । गलैंचा कारखाना, गार्मेन्ट, ज्यामी, मजदूर, कोही सुत्केरीहरुले खान पाएका छैनन् भनेर फोन आउँथ्यो । त्यसबेला आफ्नो, साधन, स्रोत र बल, बुताले भ्याएसम्म सहयोग गरियो । सुकुम्बासी टोलमा डेढ, दुई सय जतिलाई बाँडियो । यसरी बालशारथीबाहेक धेरैलाई सहयोग गरियो । यत्रो लकडाउनमा दुई दिन पनि घर बसिएन । सुरक्षा र स्वास्थ्यकर्मीहरु जसरी खटे म पनि त्यसरी नै खटिरहेँ ।

तपाईंकोमा पढेका बच्चाहरु केही रोजगारीमा लागेको पाउनुभएको छ ?
बालशारथीबाट गएका बच्चाहरुले कक्षा १२ सम्म पढेका छन् । त्यसपछि सरकारी रोजगारी त पाएका छैनन् । यस्तै प्राइभेट पसलहरुमा काम गर्ने गरेको पाएकी छु । मेरोमा आएर पढेकाहरु केही न केही रोजगारी गरेको अगाडि बढेकै पाएकी छु । यहाँबाट गएसकेपछि बिग्रिएको पाएकी छैन । केही न केही रोजगारी, व्यवसायी र व्यवहारिक भएकै पाइएको छ ।

आफूले पढाइएको बच्चा व्यवसायी बनेको देख्दा कत्तिको आनन्द आउँछ ?
कुलतमा लागेर सडकमा पुगेका, सडक, पेटीमा मागेर बसेका, लागुपदार्थले बिग्रिएका बच्चाहरु सप्रिएर रोजगारीमा लागेको देख्दा एकदमै आनन्द आउँछ । उनीहरुको प्रगति देख्दा आफ्नै छोराछोरीले गरेकोजत्तिकै गौरव लाग्छ ।

यसरी अर्का छोराछोरीलाई पालनपोषण गरी पढाउन प्रेरित हुनुभयो ?
मेरो आफ्नो इच्छा र मायाले हो ।  कसैबाट प्रेरणा पाएर होइन । मेरा पनि दुईवटा छोराछोरी छन् । त्यसरी मेरो सम्पर्कमा आउने सबैलाई आपैmले जन्माएका छोराछोरी सरह माया लाग्छ । एउटा मातृत्व प्रेम हो । मेरो घर पशुपति नजिक हो । सधैं बिहान मर्निङवाकमा जान्थे । बाटो छेउमा कलिला उमेरका बच्चाहरु जाडोमा काँडा उमारेर माग्न बसेको देख्दथेँ । त्यहींमध्ये कपिय सडकमै जाँड, रक्सी, गाँजा, डेनराइट खाने, बाटैमा सुत्ने गरेको देखिन्थ्यो । १०, १२ वर्षका केटीहरु पनि विभिन्न कुलतमा लागेको, नराम्रो कामतिर लागेको देखेर भित्रैदेखि मन कुडिएर स्वस्पूmर्त ढंगले यो काम लागेकी हुँ ।

कतिजनाले तपाईंबाट सेवा पाएका छन् ?
अहिले बालशारथीबाट १२५ जना बच्चाले त जस्तोसुकै अवस्थामा पनि निरन्तर सेवा पाइरहेका छन् । उनीहरुलाई खान, लाउन र पढ्न व्यवस्था गरिरहेका छौं ।

त्यहाँ पढाउने शिक्षकहरु तलब कहाँबाट खुवाउनुहुन्छ ?
शिक्षकलाई तलब खुवाउन कार्यक्रमहर गरिन्छ । कसैले जन्म दिनको उपलब्धमा सहयोग गर्दछन् । कसैले पृत्रीको नाममा विभिन्न तिथिहरुमा सहयोग गर्दछन् । त्यसपछि धेरैजना साथीहरु सदस्य बन्नुभएको छ । उहाँहरुबाट पनि सहयोग आउँछ ।

राज्यको तर्फबाट केही सहयोग पाउनुभएको छैन ?
राज्यले अहिलेसम्म हाम्रो सेवाको पहिचान गरेर केही सहयोग गरेको छैन । हामीले यसो गरिरहेका छौं, सहयोग गर्नुप¥यो भनेर जाँदा चाहीं ओहो सरकारले गर्नुपर्ने काम तपाईंहरुले गर्नुभएको रहेछ । कति राम्रो भनेर प्रसंसा गर्दछन् । तर, सहयोग चाहीं अहिलेसम्म गरेका छैनन् । हामीले बालशारथीको नाममा नेपाल सरकारबाट अहिलेसम्म पाँच पैसा पनि पाएका छैनौं ।

तपाईंहरुले अरु स्कुलमा पढ्न पठाएका पनि भात खान आउँछन् ?
स्कुल, कलेज लागेको बेला आउँदैनन् । छुट्टी भएको बेलामा चाहीं अहिले पनि आउँछन् ।

संस्था रहेको घर आफ्नै कि भाडामा छ ?
भाडामा हो । कोरोनाका कारण भाडा तिर्न सकेको छैन । अहिले चाहीं बालसारथी संस्था र बाल सारथी एकेडेमी भन्ने स्कुल छ । त्यो स्कुलको अध्यक्ष म हो । दुई संस्था एउटैलाई चालउन गाह्रो भएर एउटा अस्मिता सुमार्गी भन्नेलाई संस्थाको अध्यक्ष बनाएका छौं । उहाँले गुहेश्वर नजिक एउटा घर बनाइरहनु भएको छ । त्यसै घरमा बच्चाहरु सार्ने तरखरमा छौं ।

बागमती सरसफाइ अभियानमा पनि अग्र पंत्तीमा हुनुहुन्छ कसरी समय मिलाउनुहुन्छ ?
अहिले यो अभियान सुरु भएको आठ वर्ष भयो । त्यसमा हरेक हप्ता नछुटाइकन सामेल हुने म पहिलो व्यक्ति हो । मैले बन्द, हटतालदेखि कपूर्m लागेको बेलामा पनि बागमति नपुगेको हप्ता छैन । कोरोना कहरले मुलुक ठप्प हुँदा पनि म बागमति सरसफाइ अभियानमा पुगेरै छाडेँ ।

यो सब आत्म सन्तुष्टिको लागि गरिरहनुभएको छ ?
आत्मसन्तुष्टी भन्दा पनि हाम्रा नदिनाला, प्राकृतिक सम्पदा, बाटोघाटो, टोलछिमेक धेरै फोहोर भयो । विदेशीले देख्दा पनि नेपालीहरु फोहोरी भनेर चिन्ने भए । उनीहरु सामु फोहोरी भनेर चिनाउनु त भएन । हामीले देश, विदेश घुमेर धेरै देखेका छौं । सभ्य, शिक्षित, सफा र धनी मुलुक भनेर कसरी चिनाउन सकिन्छ भन्ने लागेर हो ।

विश्वले चिन्दा नेपाल देश गरीव पनि फोहोरी पनि भनेर नचिनोस् भनेर स्वस्फूर्त ढंगले सरसफाइ अभियानमा जुटिएको हो । हामीले हप्तामा एक, दुई घण्टा बागमतीमा फोहोर टिपेटर देशै सफा हुने त होइन । तर, यो अभियान देखेर देशैभरका मानिसमा सार्वजनिक ठाउँमा फोहोर गर्नुहुँदो रहेनछ भन्ने उत्प्रेरणा जागोस् भनेर म हरेक हप्ता शनिबार बागमतीमा आएर दुई घण्टा फोहोर टिप्छु । सर्वसाधारणमा चेतना जगाउन लागिपरेकी हुँ ।

तपाईं बागमती सरसफाइ अभियान्ता पनि हुनुहुन्छ, त्यो अधिकार सम्पन्न बागमती अन्तर्गतको कार्यक्रम हो कि अन्य ?
अधिकार सम्पन्न बागमती सभ्यता पनि त्यो अभियानको एउटा स्टेक होल्डर हो । किनभने त्यहाँ महानगरपालिका, सुरक्षानिकाय, कर्मचारी, अधिकारकर्मी, समासेवी, कलाकर्मी, सञ्चारकर्मी, नागरिक समाज, राजनीतिकर्मीलगायत सबैको सहयोग र सहभागिता छ ।

तपाईंहरुले यो अभियान थालेपछि बागमतीमा सुधार आएको छ ?
धेरै सुधार आएको छ । पहिला त ढलदेखि सारा फोहोर बागमतीमा मिसाउने चलन थियो । घर, टोलमा पनि जथाभावी फोहोर फाल्ने गरिन्थ्यो । सडक, गल्ली, मन्दिर छेउछाउ पनि फोहोर फाल्ने गरिन्थ्यो । हामीले सफाइ अभियान चलाएपछि धेरै मान्छेमा चेतना आएको छ । त्यसैले कुनै पनि अभियान्ताले नागरिकमा चेतना जगाउने हो । त्यो चेतना जगाउने काममा मैले अग्रणी भूमिका निर्वाह गरिरहेको छु ।

साभार : लोकसत्ता डट कम

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *