भक्तपुरको चाँगुनारायण नगरक्षेत्रमा बङ्गुर पालन गर्न नपाइने

काठमाडौं। चाँगुनारायण नगरपालिका भक्तपुरले आफ्नो नगरपालिका क्षेत्रभित्र बंगुर फार्म सञ्चालन गर्न निषेध गरेको छ । नगरसभाले चाँगुनारायण नगर क्षेत्रभित्र बंगुर फार्म सञ्चालन गर्न नपाइने निर्णय गरेको हो । नगरपालिकाले हालै सूचना प्रकाशित गरी आगामी मङ्सिर ५ गतेसम्ममा यहाँ सञ्चालित सबै बङ्गुर फार्म हटाउन निर्देशन दिएको छ।

फार्मले नगरभित्र फोहर र प्रदूषण बढाएको, प्राकृतिक सौन्दर्यतामा असर पु¥याएको, खोलादेखि स–साना खहरेमा फोहर तथा ढल सिधै हाल्ने गरेको र बस्तीमा प्रदूषण बढाएको भन्दै सञ्चालनमा रोक लगाएको जारी सूचनामा उल्लेख छ ।

स्थानीय बासिन्दाले फार्मबाट फोहर र प्रदूषण बढेकाले त्यस्ता फार्म बन्द गर्न माग गर्न वडादेखि नगरपालिकासम्म दबाब दिएकाले नगरसभाले नै यस्तो निर्णय गरेपछि हाल कार्यान्वयनमा ल्याएको नगरप्रमुख सोमप्रसाद मिश्रले जनाएका छन्।

नगरपालिकाको प्रशासन शाखाका अधिकृत नीलाकुमारी घिमिरेले नयाँ बङ्गुर फार्म सञ्चालन नगर्न र सञ्चालनमा रहेका बङ्गुर फार्मलाई ३० दिनभित्र हटाउन निर्देशन दिँदै सूचना जारी गरेका छन् । आगामी मङ्सिर ५ गतेसम्ममा त्यस्ता फार्म नहटाए कारबाही गर्ने समेत उनले चेतवनी दिएका छन् । अहिले चाँगुनारायणका विभिन्न ठाउँमा व्यावसायिकरूपमा बङ्गुर फार्म सञ्चालनमा छन् ।

सरकारको नियमानुसार पनि यस्ता बङ्गुर फार्म सम्बन्धित पालिकासँग अनुमति लिएर व्यवसाय दर्ता गर्दा बस्तीको बीच वा बस्ती नजिक नभई बस्तीभन्दा टाढा सञ्चालन गर्न पाइने व्यवस्था छ। चाँगुनारायण क्षेत्रमा मानव बस्ती आसपासमा अधिकांश फार्म सञ्चालनमा रहेको नगरपालिकाको भनाइ छ ।

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *