धार्मिक सहिष्णुता लागि आव्हान-नेता शंकर भण्डारी

विश्वले आपसी भाईचारा, सहअस्तित्व र सहकार्यलाई सभ्यताको प्रतिकको रुपमा लिएको छ । आपसी सद्भावले विश्वलाई सुन्दर र शान्त बनाउँछ । अहिलेको पुस्ताले फुटको होइन जुटको र घृणाको होईन आपसी प्रेम र सद्भावको चाहना राखेको छ । हरेक व्यक्ति स्वतन्त्रतापूर्वक आफ्ना गतिविधिहरु गर्न रुचाउँछ । आफ्नो देशमा आफू पूर्ण सुरक्षित रहेको महशुस गर्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो ।
विगत केहि समयदेखि मित्रराष्ट्र बंगलादेशमा अल्पसंख्यक हिन्दु धर्मावलम्बीका विरुद्धमा भएका हिंसाजन्य र विभेदका घटनाहरु गम्भिर प्रकृतिका देखिन्छन् । धार्मिक अतिवादी समुहले हिन्दुहरु माथि गरेको दमन, हिंसा र हत्याका घटना गम्भिर प्रकृतिका छन् । साथै हिन्दुहरुका पवित्र धार्मिकस्थल मठमन्दिरहरु भत्काउने काम हुँदै आएका छन् । सरकारले यस्ता अतिवादी समुहलाई नियन्त्रण गर्न प्रयत्न गरे तापनि त्यो प्रभावकारी हुन सकेको छैन । आफ्नो भूमिमा आफै सुरक्षित नहुने स्वतन्त्रतापूर्वक धर्म मान्न नपाउने र आस्थाको केन्द्र मठमन्दिर भत्काउने जस्ता अत्यन्त निन्दनीय कार्य तत्काल रोकिनु पर्दछ । बंगलादेश नेपालको अत्यन्त नजिकको मित्र राष्ट्र हो । यसको अन्तर्राष्ट्रिय प्रतिष्ठा वृद्धि होस् र शान्ति, स्थायित्व र समृद्धि प्राप्त होस् भन्नेमा नेपालीहरु सदैव कामना गर्ने गर्दछन् । तर पछिल्लो समयमा देखिएको हिंसा र प्रतिशोधले त्यसमा केही समस्या देखिएको छ ।

धार्मिक कट्टरपन्थीले धर्मको नाममा अल्पसंख्यक माथि विभिन्न प्रकारका शोषण एवं हिंसाजन्य क्रियाकलापलाई निरन्तरता दिदै आएका छन् । धार्मिक सहिष्णुताप्रति बंगलादेशका न्यायप्रेमी जनता र बंगलादेश सरकार प्रतिवद्ध रहेको प्रष्ट छ । पवित्र इस्लाम धर्मले मानवता र अहिंसालाई उच्च महत्व दिदै आएको छ । तर हिन्दु धर्म संस्कृतिप्रति भएका अतिक्रमण, विभेद एवं हिंसाको चक्र दोहरिनु राम्रो संकेत होइन । यस्ता अतिवादी गतिविधिको नियन्त्रण गरी बंगलादेश सबैका लागि सुरक्षित छ, सबै नागरिक सामान छन्, नागरिकका बीच कुनै द्धेष वा घृणा छैन भन्ने सन्देश दिनु जरुरी छ । मारिएका परिवारलाई क्षतिपूर्ति दिने, हिंसात्मक कार्यमा संलग्नलाई कारवाही गर्ने, हिंसात्मक प्रदर्शन रोक्ने, भत्काइएका मठमन्दिरको पुनःनिर्माण गर्ने र पुनः यस्ता घटना दोहरिन नदिन पर्याप्त सुरक्षा सतर्कता अपनाउनका लागि हार्दिक अपिल गर्दछु ।

 

 

Facebook Comments Box

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *